वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व दिन्छ : निधी


 


काठमाडौँ, साउन २० । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने र राजनीतिक स्थायित्व दिने दाबी गरेका छन् ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकोले पनि यो गठबन्धन टिकाउ हुने बताए ।

तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना नरहेको उनले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका निधीले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी गरे ।

उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने समेत बताए ।

प्रकाशित मिति: २० श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्