पूर्व उपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक


 


काठमाडौँ १८ साउन। नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ ।

आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाँल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो ।

दश वर्षे सशस्त्र द्वन्द्वका समयमा २०६० साल भदौ ११ गते क्षत्रीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गर्दा घाइते हुनुभएको थियो । गोली प्रहारबाट स्पाइनल कर्ड इन्जुरी भएपछि उहाँले सधैँ ह्विलचियरको जीवनयापन गर्न बाध्य हुनुहुन्छ ।

क्षत्रीले सेनामा सेवामा ४० वर्ष भोगेका अनुभवदेखि आफ्ना जीवनमा आइपरेका उतारचढावलाई समेटेर पुस्तक निकालिएको फुयाँलले बताउनुभयो । जीवन सुन्दर छ, किताबको शीर्षकजस्तै आत्मकथामा लेखकको इमानदारिता झल्किएको उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार यात्रीले जीवनदेखि निराश हुनेका लागि क्षत्रीको आत्मकथा प्रेरणादायी कृति हुने सुनाउनुभयो । पुस्तकमा लेखकले जतिसुकै कठिनाइ आइपरे पनि जीवन सकारात्मक कार्यबाट सुन्दर बनाउन सकिने उदाहरण दिनुभएको बताउनुभयो ।

सेनापति शर्माले भने क्षत्रीको सेनामा सेवावृत्त हुँदादेखि नै सक्रिय र सिर्जनात्मक स्वभाव रहँदै आएको विगत स्मरण गराउनुभयो । उहाँका इमानदारी, प्रष्ट वक्ता र क्रियाशीलता प्रशंसनीय रहेको बताउनुभयो ।

लेखक क्षत्रीले पुस्तकमा आफ्नो पुर्खाले राज्यमा दिँदै आएको योगदानदेखि, बाल्यकाल अवस्था, सेनामा सेवारत हुँदाका अनुभव र शारीरिक रूपले असक्त भएपछि जीवनमा आएका उतारचढावका विषय आत्मकथामा समेटेको सुनाउनुभयो ।

यात्रा पब्लिसिङ हाउसले पुस्तक प्रकाशनमा ल्याएको हो । किताब जात्रा शनिबारसम्म रहने छ ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्