निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनाहरूमा बजेट अभाव हुन नदिने : उपप्रधानमन्त्री पौडेल


 


काठमाडौँ १८ साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनाहरूमा बजेट अभाव हुन नदिने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री पौडेलले निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवका आयोजना तथा रणनीतिक महत्वका अन्य ठूला आयोजनाहरू तोकिएको समय सीमाभित्र सम्पन्न गर्न आवश्यकता अनुसार बजेट उपलब्ध हुने स्पष्ट पार्नुभयो ।

मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे छलफल गर्न बसेको बैठकमा उपप्रधानमन्त्री पौडेलले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि प्रभावकारी नियमनको नीतिगत व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पहल गरिरहेको पनि बताउनुभयो ।

पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको दायित्व निरन्तर बढ्दै गएको भन्ने सांसदहरूको प्रश्नमा अर्थमन्त्री पौडेलले मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा मात्रै वैदेशिक ऋण स्वीकार गरिने र त्यसलाई उत्पादनमूलक क्षेत्रमा मात्रै परिचालन गरिने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा पूर्व अर्थमन्त्री एवं अर्थ समितिका सदस्य डा।प्रकाशशरण महतले नियामक निकायहरूको भूमिका कमजोर हुँदा सेयर बजारमा साना लागानीकर्ताहरु सधैँ असुरक्षित हुने गरेको भन्दै समयमै सचेतता अपनाउन ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, बैठकमा बोल्ने अन्य सांसदहरुले सरकारको बजेट खर्च गर्ने क्षमता बढाउनुपर्ने, नियमनकारी निकायहरूको भूमिका प्रभावकारी बनाउनुपर्ने, बजेट अभावका कारण अलपत्र परेका विकास निर्माणका आयोजनाहरूलाई गति दिनुपर्ने, बढ्दो महँगी नियन्त्रणका लागि सरकारको भूमिका बढाउनुपर्ने लगायतको धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्