भ्रष्टाचार मुद्दामा बयान फेर्ने सरकारी साक्षीविरुद्ध मुद्दा दायर


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा दुई जना सरकारी साक्षीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले चितवनको कालिका नगरपालिका-६ घर भई हाल पोखरा महानगरपालिका-१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूलाई पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकायासमेत प्रतिवादी भएको मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।

तर तिवारी र पौडेलले विशेष अदालतसमक्ष बकपत्र गर्दा अनुसन्धानको क्रममा गरिएको भन्दा फरक बकपत्र गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पोखरा महानगरपालिका- १० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्रका लागि शिवप्रसाद बराल, उषाकिरण रोकाया र सुरज कुँवरले ३ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले मुद्दा दायर गरेको थियो ।

आयोगले उनीहरू दुवै जनाविरुद्ध ३ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिमको जरिवाना र बिगो जफतको समेत मागदाबी गरेको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्