सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी आज विश्वासको मत लिँदै


 


काठमाडौं, साउन १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् ।

सत्ता सहयात्री दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री सोडारीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए ।

मुख्यमन्त्रीको आग्रहअनुसार विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक आह्वान गरेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । मुख्यमन्त्री सोडारीका पक्षमा नेकपा (माओवादी केन्द्र) का १०, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रको एक गरेर १५ मत मात्रै देखिन्छ ।

उनको विपक्षमा भने नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्तिका सात र राप्रपाको एक गरेर ३७ मत पर्ने देखिन्छ ।

उनले आज विश्वासको मत नलिई संसद्लाई सम्बोधन गरेर पदबाट राजीनामा गर्ने सम्भावना पनि रहेको छ ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्