प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्ड


 


काठमाडौँ । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट ? नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो भ्रमण सुरु गरे, त्यो विवादमा पर्छ ।

साउन ३१ गते प्रधानमन्त्री पदमा शपथ लिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण कहाँबाट हुने चर्चा सुरु भइसकेको छ । प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशबाट निम्तो आइसकेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि भारत र चीनले कूटनीतिक मध्यमबाट पहल थालिसकेका छन् । भारतले सेप्टेम्बरमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने र त्यसमा नै प्रधानमन्त्री ओलीलाई अयोध्यासम्म लगेर भ्रमण गराउने सोच बनाएको छ । तर नेपालबाट ‘सकारात्मक’ सङ्केत नपाएकाले त्यो कुरा अगाडि बढेको छैन ।

उता, चीनले पनि प्रधानमन्त्री ओलीलाई चीन भ्रमण गराउन कूटनीतिक पहल थालेको छ । तर, यो विषय पनि अन्तिम टुङ्गो लाग्न बाँकी छ । भारत र चीनले भ्रमणका लागि पहल गरिरहँदा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण बैंकक हुने देखिएको छ ।

सेप्टेम्बरमा छैटौँ बिमस्टेक सम्मेलन थाइल्यान्डको बैंककमा आयोजना हुँदैछ । सो सम्मेलनमा प्रधानमन्त्री ओली जाने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू जाने लगभग निश्चित भएको छ । यद्यपि, आधिकारिक इन्भिटेसन आइपुगेको छैन, त्यसको प्रतीक्षामा छौँ । त्यो आइसकेपछि सबै कुराको टुङ्गो लाग्छ ।’

सेप्टेम्बरको पहिलो हप्ता बिमस्टेक सम्मेलन हुने भनिए पनि मिति तय भएको छैन । सम्मेलनको मिति तय नभएकाले इन्भिटेसनमा ढिलाइ भएको हुनसक्ने मन्त्रालय स्रोतको भनाई छ । यद्यपि, मन्त्रालयले भ्रमणको आन्तरिक तयारी थालिसकेको छ ।

बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्डसहित सात सदस्य राष्ट्र छन् । बिमस्टेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका राष्ट्र प्रमुखसँग भेटघाट हुने बताइएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्