वरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश


 


काठमाडौं । नायव निरीक्षक (सई)कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरुको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक-फरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो ।

वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले १६ पुस २०८० मा र उनीहरुले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरुको माग बमोजिम हुने उल्लेख गरिएको छ ।

सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरु चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेका थिए । यो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मी हुन् ।

वरिष्ठहरुको पक्षमा मागबमोजिम हुने र परमादेश जारी भएसँगै वरिष्ठ सईहरुले न्याय पाएको उनले बताएका छन् । मुद्दा दर्ता भइसकेपछि यही बीचमा अनिवार्य अवकाशमा गएका बरिष्ठ सईहरुले समेत न्याय पाएको उनले बताए ।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वत विगतको भन्दा थप तलब पाउने र सई र इन्सपेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको उनले बताए ।

नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ ।

के हो वरिष्ठ सईको मुद्दा ?
प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोभन गरेर वरिष्ठ सई, वरिष्ठ हबल्दार र सहायक हबल्दार पद सिर्जना गरिएको थियो । दुई वर्षअघि २०७९ मा मात्रै १ हजार १७१ वरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरु बढुवा भएका थिए ।

तर वरिष्ठको तीन तारे फुली लगाएका उनीहरुले तलब भने सई हुँदा भन्दा कम पाए । सईमा ८ ग्रेडसम्म खाएका उनीहरुले वरिष्ठ सई भए पनि पहिला भन्दा २६२ रुपैयाँ कम तलब पाए । सईमा ८ ग्रेड खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ ।

तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरुले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् ।

१ साउन २०७९ बाट लागू भएको तलवमानअनुसार वरिष्ठ सईको सुरु स्केलको तलव ४० हजार ९ सय ९८ रुपैयाँ छ । सईको ३४ हजार ७ सय ३० रुपैयाँ छ ।

सई दर्जामा रहेकालाई १ हजार ४५६ रुपैयाँका दरले ८ ग्रेडसम्म दिइन्छ । जसअनुसार ८ वर्ष सई दर्जामा बिताएकाहरुको तलब ४३ हजार ९ सय ९४ रुपैयाँ हुन्छ ।

तर वरिष्ठ सईमा जम्मा २ ग्रेड दिइन्छ । प्रतिग्रेड १ हजार ३ सय ६७ रुपैयाँका दरले २ ग्रेड थप गर्दा वरिष्ठ सईको तलव ४३ हजार ७ सय ३२ रुपैयाँ मात्रै हुन्छ । जसकारण ८ ग्रेड बुझेका सईहरु वरिष्ठ सईमा बढुवा हुँदा तलब भने कम पाए ।

प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्