राजधानीमा बाढी, कहाँ कति क्षति? (विवरणसहित)


 


काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार राति मुसलधारे वर्षा भएपछि बागमती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबीखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायतको बाढी बस्तीमा पसेको छ। अविरल वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका का विभिन्न स्थान डुबानमा परेका छन्। बाढी खोला किनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित एमाले कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ।

‘डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरुष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ’, सूचना अधिकारी सुवेदीले भने। उनका अनुसार यूएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका-८ चाँगाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ। महालक्ष्मी नगरपालिका–९ लाकुरीभन्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ।

बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन्। बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पीपलको बोट ढलेर सडक अवरुद्ध भएको छ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ। काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो। काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबीखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।

मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा रातिदेखि नै बाढीबाट प्रभावित भए। बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन सुरक्षित स्थानमा सार्नमै उनीहरू व्यस्त भएका थिए।

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबेका छन्। कसैले आफ्ना सामान जोगाए भने कयौँका बगेका छन्। कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहा लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन्।

सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्। हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ। सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालय बन्द भएका छन्। बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबानमा परेको छ।

बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु

बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ। प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो। मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ। राससको सहयोगमा

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्