इजरायली आक्रमणमा हमासका प्रमुख नेताको मृत्यु
कायरो । इजरायलको आक्रमणबाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छ्न् ।
प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन् । तेहरानमा इस्माइल हानियाको निवासमा आक्रमण हुँदा उनी र उनका एक अंगरक्षकको मृत्यु भएको थियो ।
हानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । इस्माइल हानिया हमासको राजनीतिक विभाग प्रमुख थिए । उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन् ।
हमासका नेताहरूमध्ये नरम मानिने हानियाको जन्म प्यालेस्टाइनको शरणार्थी शिविरमा भएको थियो । सन् १९८९ मा उनलाई इजरायलले ३ वर्ष कारागारमा राखेको थियो ।
केही समय इजरायल र लेबनानबीचको ’नो म्यान्स ल्यान्ड’ मा निर्वासनमा रहेका उनी सन् १९९७ मा हमासका नेता शेख अहमद यासिनको कार्यालय प्रमुखका रूपमा नियुक्त भएका थिए । उनलाई हमासले सन् २००६ मा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त गरिएको थियो । तर एक वर्ष पुग्दा नपुग्दा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख मोहम्मद अब्बासले हानियालाई पदबाट बर्खास्त गरेका थिए ।
हानियालाई २०१७ मे ६ मा हमासले राजनीतिक विभाग प्रमुखका रूपमा नियुक्त गरेको थियो । सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले हानियालाई आतंकवादी घोषणा गरेको थियो । पछिल्लो समय भने हानिया कतारमा बस्दै आएका थिए ।
प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार