प्रेस काउन्सिलले गर्यो ३१ युट्युब च्यानललाई कारबाही


 


काठमाडौं, साउन १६ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ ।

काउन्सिलले मंगलबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता÷सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो ।

मिडियाअन्तर्गत सूचीकृत भएका यस्ता ३ वटा माध्यमलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।

हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पीएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानल यस्तो कारबाहीमा परेका हुन्।

काउन्सिलले हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने माध्यममाथि कारबाही अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, मिडियासम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ वटा युट्युब च्यालनलाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

गत आर्थिक वर्षमा काउन्सिलले यस्ता ४३ वटा विभिन्न माध्यमलाई कारबाही गरेको थियो ।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्