पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशन


 


काठमाडौं, साउन १६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह रेका छन् ।

एमाले दाङको बैठकमा बोल्दै महासचिव पोखरेलले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । जनमतको हिसाबले मुलुकको पहिलो पार्टी हुँदाहुँदै पनि प्राविधिक कारणले एमाले दोस्रो पार्टी बनेको उनले बताए ।

विगतका कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले विगतमा नमिलेका कुरालाई मिलाउँदै रोकिएको पार्टी निर्माणको गतिलाई अगाडि बढाउन निर्देशन दिए ।

पार्टीलाई जनतासँग जोड्ने अभियानलाई तीब्र बनाउँदै लैजान निर्देशन दिँदै महासचिव पोखरेलले एमालेलाई जनताको रोजाइको पहिलो पार्टी बनाउनतर्फ सबै कार्यकर्ता लाग्नुपर्ने बताए ।

जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्य सुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायत केन्द्रीय र प्रदेशका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकले स्कुल विभागमा राममणि पाण्डे, प्रचार तथा प्रकाशन विभागमा सङ्गीत बस्याल, स्थानीय सङ्घसंस्था विकास विभागमा मानबहादुर रावत, निर्वाचन विभागमा विवेक श्रेष्ठ, सङ्गठन विभागमा श्याम डाँगी, वित्त तथा कोष व्यवस्थापन विभागमा सानुनारायण अधिकारी र सहकारी तथा गरिबी निवारण विभागमा अमर खड्का रहनुभएको प्रचार तथा प्रकाशन विभाग प्रमुख सङ्गीत बस्यालले जानकारी दिए ।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्