प्रधानमन्त्री द्वारा दुई कृति लोकार्पण


 


काठमाडौँ, १५ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुईओटा साहित्कि कृति लोकार्पण गर्नुभयो ।
पार्टी कार्यालय च्यासलमा करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतीतगर्नु भएका ओलीले नरेश शाक्यका कृति लोकार्पण गर्नुभएको हो ।

नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमिगतकालीन एक साथीको कृति लोकार्पण पनि गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारसँग खीर खाने कार्यक्रमसहित हरेक साउन १५ गतेको भेटघाटको विगतका क्रमलाई निरन्तरता दिइएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरू ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरूमा’ (संस्मरण) को लोकार्पण गर्नुभएको थियो । कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उहाँका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउनसक्ने बताउनुभयो । आफूले भूमिगत कालमा कालीचरण नामबाट फुटकर रुपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरू हाल सङ्कलनमा नरहेको सुनाउनुभयो ।

एमालेका अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “शाक्यजी साहसिक रूपमा अघि बढेर साहित्य रचना गर्नुस् । तपाईँको स्वास्थ्यका बारेमा पनि हामी जिम्मा लिन्छौँ । लेखिएका कृतिहरू प्रकाशनको जिम्मेवारी मेरो भयो । मेरा समकालीन साथीहरू भुँवरीमा परेको म देख्न सक्दिनँ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस् ।”

समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरे आदिका रचना र गायनहरू सार्थक रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शाक्यका संस्मरणले परिवर्तनका लागि भएका सङ्घर्षको अभिलेखीकरण गरेको बताउनुभयो । सो विभागका प्रमुख रघुजी पन्तले कवि नरेश शाक्यका कवितामा भावको उच्च रूप पाइने बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले भूमिगत कालमा सङ्घर्षपूर्ण जीवन भोगेर कवि शाक्यले साहित्य र सामाजिक क्षेत्रमा योगदान दिएको बताउनुभयो ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्