सरकार ढल्ने त के ढलपल पनि हुँदैन : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताएका छन् ।

सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको बताए । ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन’, प्रधानमन्त्रीले भने, ‘त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन ।’उनले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताए ।

संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीले नेतृत्व लिनुपरेको बताए ।

प्रधानमन्त्रीले भने, ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।’

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्