बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत दिन कांग्रेसको ह्वीप


 


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ ।

प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री लामालाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

प्रदेश सभाको बैठक आज ३ बजेका लागि तय गरिएको छ । सत्ता साझेदार दल नेकपा एमालेको पनि विश्वासको मतसम्बन्धी निर्णय गर्नका लागि दलको बैठक बस्ने तयारी भइरहेको छ ।

एमालेले पनि मुख्यमन्त्री लामालाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ ।

मुख्यमन्त्री लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ ।

प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा एकीकृत समाजवादी को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्