काठमाडौंको चुनदेवीबाट ९ जना जुवाडे पक्राउ, १० लाख ११ हजार बरामद


 


काठमाडौं । काठमाडौं महानगरपालिका– ४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार साँझ उनीहरूलाई काठमाडौंको चुनदेबीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, र काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन रहेका छन् ।

त्यस्तै प्रहरीको टोलीले काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाहीलाई जुवाको खालबाट पक्राउ गरेको हो ।

आलेको घरमा ओखर जुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ ।

जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्