कञ्चनजंघा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो


 


ताप्लेजुङ, साउन १५ । जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ ।

गत वर्ष आर्थिक वर्ष २०८०/८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो ।

उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै रहेको छ ।

कार्यालयका सचिव मनकुमार लिम्बूले हिउँचितुवाबाट आक्रमण भई क्षति भएका याकको प्रविधिक अध्ययनपछि किसालाई ४० हजारदेखि एक लाख २० हजार क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको बताए।

उनका अनुसार आव २०८०÷८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानले गोठमा पालेको १६ याक हिउँचितुवाले मारेको छ । परिषद्ले ती याकको क्षतिपूर्ति तथा राहतका लागि पाँच लाख पाँच हजार किसानलाई उपलब्ध गराएको थियो ।

त्यस्तै कञ्चजङ्घा संरक्षण क्षेत्रअन्तर्गत सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन क्षेत्रमा चितुवाको आक्रमणबाट दुई–दुई गोरु र फक्ताङलुङ–५ को हिमाली क्षेत्रमा चारवटा बाख्रा आक्रमणबाट क्षति भएको परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार दुईवटा गोरु चितुवाले क्षति गरेवापत रु ५० हजार र चारवटा बाख्रा क्षति गरेवापत रु ३० हजार राहत उपलब्ध गराएको छ ।

त्यस्तै सिरिजङ्घा–८ का मोहन राईको याक भालुले आक्रमण गरी खाइदिएको छ । याकपालक राईलाई परिषद् कार्यालयले ४५ हजार राहत उपलब्ध गराएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले गरेको अध्ययनअनुसार सन् २०१५ मा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको छ । यसपछि हिउँचितुवाको गणना भएको छैन ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्