कृष्णमानलाई निर्वाचन आयुक्तमा नियुक्त नगर्न राप्रपा सांसद कार्कीको आग्रह


 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ समितिलाई आग्रह गरेकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले यस्तो आग्रह गरेकी हुन् । सांसद कार्कीले प्रधानलाई नियुक्ति गर्ने निर्णय नगर्ने संसदीय सुनुवाइ समितिको ध्यानाकर्षण गराइन्।

उनले प्रधानलाई आयुक्तमा नियुक्ति गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुने बताइन्। यौनशोषण आरोपित प्रधानलाई आयुक्तमा अनुमोदन गर्न नहुने उनको भनाइ छ।

सांसद कार्कीले भनिन्,‘एक महिलालाई लामो समयसम्म यौन शोषण गरेको प्रधानमाथि आरोप लागेको छ। ती महिलाले संसदीय सुनुवाइ समितिमा उजुरी पनि दिएकी छन्। तिनको भनाइअनुसार उनले अदालतलाई पनि गुहारिन्। पछि मिलापत्र भएर पटक-पटक गरेर एक करोड २५ लाख रुपैयाँ कृष्णमान प्रधानले तिरेको उहाँसँग रसिद छ।’

प्रमुख आयुक्त र आयुक्त हुन उच्च नैतिक चरित्र हुनुपर्ने उल्लेख गर्दै यौन शोषण गर्ने व्यक्तिलाई स्वीकार्य नहुने बताइन्।

प्रधानलाई संसदीय सुनुवाइ समितिबाट केही गरेर अनुमोदन गरियो भने संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुने बताइन्।

संसदीय सुनुवाइ समितिको बैठक सोमबार अपराह्न ५ बजे बस्दैछ। यो बैठकमा प्रधानलाई आयुक्त अनुमोदन गर्ने वा नगर्ने निर्णय हुनेछ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्