रोजगारीका लागि एकै वर्षमा ८ लाख नेपाली विदेशिए


 


काठमाडौं, साउन १४ । रोजगारीका लागि एकै वर्षमा आठ लाख नेनेपाली विदेशिएका छन् ।

अध्यागमन विभागकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ८ लाख बढी नेपाली रोजगारीका लागि विदेशिएका हुन् ।

गत वर्ष विभिन्न उद्देश्यले विदेश गएका १६ लाख २१ हजार ५ सय ६६ जना नेपालीमध्ये ८ लाख ७ हजार ६ सय ९३ जना रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका हुन् ।

रोजगारी खोज्दै विदेश पुगेका अधिकांश नेपालीले कठिन परिश्रम गर्नुपर्ने बाध्यतामा रहेका छन् । कैयौं नेपालीहरू कामको सिलसिलामा अकाल मृत्युवरण गर्नसमेत बाध्य हुने गरेका छन् ।

रोजगारी खोज्दै विदेश पुग्नेमा पुरुष ७ लाख १८ हजार ९ सय ८ र महिला ८८ हजार ७ सय ६३ जना रहेका छन् । अघिल्लो वर्ष २०७९÷८० मा भने सात लाख ७१ हजार ३२७ जना नेपाली रोजगारी खोज्दै विभिन्न मुलुक पुगेका थिए ।

तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष रोजगारी खोज्दै विदेश जानेको संख्या बढेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हाल प्रत्येक महिना औसतमा ६५ हजारभन्दा बढी र दैनिक झण्डै ३ हजार ३ सय नेपाली सुन्दर भविष्यको खोजी गर्दै विदेशतर्फ लाग्ने गरेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालीले रोजगारकालागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई रहेको छ । हाल युएई, मलेसिया, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया, जापान नेपालीका प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् ।

त्यसैगरी युरोपेली मुलुक क्रोएसिया, पोल्यान्ड, रोमानियालगायतका देशमा श्रम स्वीकृति लिएर गइरहेका छन भने अन्य युरोपेली मुलुकमा चोरबाटो प्रयोग गरेर जाने युवाको संख्या पनि उल्लेख्य रहेको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्