महिला एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जित्यो
काठमाडौं, १३ साउन। महिला एसिया कप टी २० प्रतियोगितामा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको छ ।
आज भएको फाइनलमा टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा १ सय ६५ रनको बलियो स्कोर खडा गरेको थियो । भारतकी कप्तान स्मृती मन्धनाले ४७ बलमा ६० रन बनाइन् । श्रीलंकाले २ विकेट मात्रै गुमाएर लक्ष्य भेट्टायो ।
श्रीलंकाले पहिलो विकेट ७ रनमै गुमाएको थियो । भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन् । तर, कप्तान चामरी अथापट्थु र हर्षिता समराविक्रमाले ८७ रनको साझेदारी गर्दै श्रीलंकालाई जितको बाटोमा डोहोर्याएका थिए । चामरीले ४३ बलमा ६१ रन र हर्षिताले ५१ बलमा ६९ रनको योगदान दिए ।
चौंथो नम्बरमा आएकी कभिसा दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन । श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य हासिल गरेको थियो ।
श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो । भारत आठौंपटक विजेता बन्न वञ्चित भएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार