विकास–निर्माणका काम सुस्त भएकोमा सांसदद्धारा ध्यानाकर्षण


 


काठमाडौं , माघ १०

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा शून्य समयमा बोल्ने सांसदले आ–आफ्ना निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा पहिलो वक्ताकारुपमा सांसद शिवचन्द्र चौधरीले मुलुकमा विकास–निर्माणको काममा निकै सुस्तगतिमा भइरहेको गुनासो गरे ।उनले भने–‘जनकपुर र काठमाडौंको विमानस्थलको टर्मिनल निर्माण एकैचोटि सुरु भएकामा काठमाडौंको सकिएको वर्षां भइसके पनि जनकपुरको भने निर्माणकार्य सुरु पनि भएको छैन ।’

सांसद श्रीमाया थकालीले राष्ट्रपति, न्यायाधीश र सभामुख महिला भएको मुलुकमा दिनदिनै महिला हिंसाका घटना भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराइन् । उनले भनिन्–‘नेपालगन्जमा अनिशा खटीको महिला हिंसामा परेर ज्यान गएको छ । उक्त घटनाका दोषीमाथि कडा कारबाही होस् ।’सांसद हरिप्रसाद नेपालले निर्वाचनसम्बन्धी विधेयक पारित भएपछिमात्रै निर्वाचन घोषणा गर्नु उपयुक्त हुने बताउँदै राज्य व्यवस्था समितिबाट त्यससम्बन्धी विधेयक छिटो पारित गराउन राजनीतिक दलले सांसदलाई निर्देशन दिन आवश्यक रहेको धारणा राखे ।

सांसद हरिबहादुर राजवंशीले हुलाकी राजमार्गअन्तर्गतका विग्ही, कन्काई, कमलाजस्ता नदीमा अझैपनि पुल निर्माण नभएको र नदीमा तटबन्ध नबन्दा धेरै खेतीयोग्य जमिनको कटानी हुँदै आएकोतर्फ सदनको ध्यानाकर्षण गरे ।

 

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्