संसदमा रास्वपा सांसद ढकालको प्रश्न : डीआईजी मनोज केसीलाई किन सरुवा गरियो ?


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सत्ता गठबन्धनमाथि आफूहरूले लगाएका आरोप पुष्टि हुँदै गएको बताएका छन् ।

प्रतिनिधिसभाको आकष्मिक समयमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् । सांसद ढकालले विश्वासको मत लिएको दुई दिनभित्र अब्बल राष्ट्रसेवक डीआइजी मनोज केसीको सरुवा गरिएको बताए ।

कुन उद्देश्यका साथ केसीको सरुवा गरिएको हो भन्ने प्रश्न ढकालले गरे । उनले कांग्रेस महामन्त्रीको नाम नलिईकन लाई यो विषयमा सदनमा बोल्न चुनौती समेत दिए ।

सांसद ढकालले भने,’यो सरकारको उद्देश्य स्पष्ट थाहा थियो । डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन ? के का लागि ? के उदेश्यका लागि ?’

उनले डीआईजी केसीलाई किन, के का लागि के उद्देश्यका लिएर सरूवा गरियो भन्ने प्रश्न पनि गरे ।

कांग्रेसका एक महामन्त्रीले विगतमा इन्सपेक्टर सरुवाको विषयमा बोलेको स्मरण गर्दै उनले डिआइजी केसीको सरुवाको विषयमा बोल्न सक्ने कि नसक्ने भनेर समेत सांसद ढकालले प्रश्न गरे ।

सांसद ढकालले आफ्नो दललाई नाति समूह भनेर सम्बोधन भएकोमा आपत्ति जनाउँदै आफूहरू ‘अपुताली खाने’ नाति समूह नभएको भन्दै सशक्त प्रतिपक्ष भएको उनको भनाइ थियो ।

प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका डीआईजी केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

डीआईजी केसीले भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतिक थापा र बेचन झालाई पक्राउ गर्न सहयोग गरेका थिए ।

प्रकाशित मिति: १३ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्