आगामी निर्वाचनसम्मै कांग्रेस–एमालेको सरकार : सञ्चारमन्त्री गुरुङ


 


लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएको र यो आगामी निर्वाचनसम्मै रहने बताउनुभएको छ ।

आजदेखि सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले विकासको गति बढाउनका लागि दुई ठूल मिल्नुपरेको स्पष्ट पार्नुभयो ।

सबै क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताउँदै मन्त्री गुरुङले मुलुकलाई विकसित देशको दाँजोमा लैजानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त मत अझै थपिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले एक महिनाभित्रमा सबै मन्त्रीहरूलाई देखिने गरी काम गर्न निर्देशन दिनुभएको र सोही अनुरूप मन्त्रीहरू अघि बढेकाले कामको गति देखिने मन्त्री गुरुङको भनाइ छ । उहाँले विकासका कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएर सरकारले जनतामा आशाको सञ्चार गराउने अठोट लिएको बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले देश बनाउने जिम्मा युवाहरूको काँधमा आएकाले सोही अनुरूप युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । एमाले पार्टीले युवाहरूलाई विभिन्न अवसर दिँदै आएको उहाँको भनाइ छ ।

सङ्घका केन्द्रीय पूर्व अध्यक्ष राजीव पहारीले युवाहरूले देश निर्माणमा ठूलो योगदान दिएको र राज्यले पनि सोही अनुरूप युवाहरूलाई अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश सचिव धनजय दवाडीले युवा सङ्घले जनतामा विश्वास जगाएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्