समर्थन कायमै राखेर कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी


 


विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ। शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । १७ असारमा केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि माओवादी मन्त्रीहरुले आज राजीनामा बुझाएका हुन् । मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोले भने–‘मुख्यमन्त्री हिक्मत कार्कीकै आग्रहमा हामी अहिलेसम्म सरकारमा रहेका हौं । मुख्यमन्त्रीले प्रदेशमा सहमतिको सरकार नबन्ने भनेपछि हाम्रा मन्त्रीहरुले राजीनामा दिएका हुन्।’

प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलनमा मन्त्रीहरुसहित उपस्थित आङ्बोले लगत्तै मन्त्रीहरुले मुख्यमन्त्रीसामु राजीनामा पत्र बुझाउने बताए।

‘अहिलेको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो र त्यसलाई दिएको समर्थन फिर्ता गर्न सबै सांसद भेला हुनुपर्छ’, उनले भने –सरकारलाई दिएको समर्थन पनि हामी चाँडै फिर्ता लिन्छौं। प्रदेशमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं।’ सरकार छाडेपनि प्रतिपक्षमा बसेर जनताको आवाज बोल्ने उनले बताए ।

एमाले संसदीय दल नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते सरकार गठन भएको थियो। उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, वन वातावरण तथा पर्यटन मन्त्री नारायण मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगर थिए।

चारै जना मन्त्रीहरुले अलग–अलग राजीनामा पत्र तयार पारेर मुख्यमन्त्रीलाई बुझाउने तयारी गरेका हुन्। कोशीमा अब एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुनेछ।

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्