रवि लामिछाने निकट प्रहरीहरु ‘टार्गेट’मा, काठमाडौंका एसएसपीलाई हटाउने तयारी


 


काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछानले विश्वास गरेर जिम्मेवारी दिएका केही प्रहरी अधिकारीलाई अहिलेको सरकारले हटाउने प्रक्रिया अघि बढाउने तयारी छ ।

बिशेष ब्यूरोका डिआइजी मनोज केसीलाई हटाउने प्रक्रिया अघि बढी सकेको छ । त्यस्तै, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी बसन्त रजौरेलाई पनि हटाउने तयारी भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ ।

लामिछाने गृहमन्त्री भएपछि परिसरका तत्कालिन प्रमुख एसएसपी भूपेन्द्र खत्रीलाई हटाएर रजौरेलाई लगेका थिए । खत्री कांग्रेस निकट भएको भन्दै उनलाई लामिछानले हटाएर आफु अनुकुल एसएसपी लगेका थिए ।

अहिले नोपली कांग्रेसका गृहमन्त्री आएपछि कांग्रेस निकटलाई नै पठाउने तयारी भइरहेको छ । एसएसपी विश्व अधिकारीलाई पठाउने छलफल भइरहेको छ । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका निकटस्थ अधिकृत हुन् । हाल उनी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

काठमाडौं प्रहरीले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचत झासँगै पूर्वगृहमन्त्री लामिछाने जोडिएको कालिमाटीको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारीको पनि अनुसन्धान गरिरहेको छ।

जसकारण लामिछानेका विरोधी एसएसपीलाई खटाउने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तयारी छ । लामिछानले कुँवरलाई हटाउने प्रयास गरेका थिए । अब उनले त्यसको प्रतिशोध लिने चर्चा प्रहरीमा छ ।

त्यस्तै, लामिछानेलाई सहयोग गरेको आरोप लागेका सिआइबीका एआइजी श्यामलाल ज्ञवालीलाई पनि सरुवाको तयारी भइरहेको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्