चितवनमा फेरि अर्को दुर्घटना, ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु


 


चितवन । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय कन्टेनर एक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।

उनीहरु दुवैको उपचारकाक्रममा मृत्यु भएको हो।

भारतीय कन्टेनरका सहचालक भारतको गोरखपुर बस्ने २२ वर्षीय सावन अहमदको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको डिएसपी रिजालले बताए।

असार २८ गते नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको थियो । जुन बस र बसमा सवार केही यात्रुका १५औं दिनसम्म पनि अत्तोपत्तो छैन । माथिबाट खसेको पहिरोले बगाउँदा दुवै बस त्रिशूली नदीमा खसेका हुन् ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको एन्जल डिलक्समा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्स बसमा ४१ जना यात्रु थिए । जसमध्ये तीन जना बाँच्न सफल भएका थिए । हराइरहेका ६२ यात्रुमध्ये विहिबारसम्म २४ जनाको मात्रै शव फेला परेको छ । जसमा ७ जनाको भने सनाखत हुन बाँकी छ।

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्