राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, १२ बजे पछि सार्वजनिक हुँदै


 


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ ।

शुक्रबार मध्याह्न १२ बजेर १५ मिनेटमा सार्वजनिक हुने तय भएको राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले पास गरेसँगै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो ।

राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालयबाट रोकावट भएको थियो । प्रधानमन्त्री कार्यालयले एकपटक हेर्नुपर्ने भनेपछि रोकिएको थियो ।

राष्ट्र बैंककै पूर्वगभर्नर तथा पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो ।

त्यसो त गत शुक्रबार बोलाइएको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति वैठकमा गभर्नर महाप्रसाद अधिकारीले पनि आफू तयार नभएको भनेर छलफल गरेका थिएनन् ।

एक साताको समय लगाएर प्रधानमन्त्रीको कार्यालयबाट परिमार्जनसहितको मौद्रिक नीति मस्यौदा आएपछि शुक्रबार सार्वजनिक गर्न लागिएको राष्ट्र बैंक स्रोतको दावी छ ।

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्