आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन


 


काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो ।

नेपालको हवाई सुरक्षा, आईकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकार तथा पोखरा र भैरहवा विमानस्थलको सञ्चालनको सन्दर्भमा भएको छलफलमा सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिएका छन् । अन्य मुद्दामा दिएको निर्देशन भने अर्को बैठकमा उपस्थित हुँदा लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए ।

बैठकमा आईकाओको सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र समितिमा बुझाउन निर्देशन दिँदै उनले प्राधिकरण टुक्र्याउने विधेयक कहाँ कस्तो अवस्थामा छ जानकारी उपलब्ध गराउन समेत निर्देशन दिएका छन् । त्यस्तै कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प अरु हुन सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल भएको छ ।

बैठकमा नेपालका एयरलाइन्सले बिजनेस किन नपाउने भन्ने प्रश्न समेत समितिले राखेको छ भने यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिएको छ । बैठकमा ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क-कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत समितिले निर्देशन दिएको छ ।

प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्