गिरीको राजीनामापछि प्रमुख सचेतक र सचेतकको भूमिका निष्क्रिय


 


बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि प्रमुख सचेतक तुलसी प्रसाद चौधरी र सचेतक रेखा कुमारी शर्माको भूमिका निष्क्रिय भएको छ ।

मुख्यमन्त्री नियुक्तिमा हस्तक्षेप गरेपछि गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका थिए । एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले संसदीय दलको नेताले राजीनामा दिएपछि आफूहरू निष्क्रिय भएको बताए ।

उनले भने, ‘हामीलाई नियुक्त लीला गिरीले गरेको हो । संसदीय दलको नेता नै गएपछि प्रमुख सचेतक र सचेतक पद निष्क्रिय हुने हो । यसमा हामीले चाहिँ राजीनामा दिनुपर्ने छैन ।’

गिरिले मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय गरेको भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएको हुन् । एमालेले संसदीय दलका नेता गिरीलाई लुम्बिनीको मुख्यमन्त्री नबनाई उपनेता चेतनारायण आचार्यलाई बनाएको छ । आचार्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्