गृहमन्त्री लेखकले भने – सौर्य एयरको जहाज दुर्घटनाबारे छानबिन गर्छौं


 


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन्।

घटनास्थल निरीक्षमा पुगेका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।

जहाजमा रहेका क्याप्टेन मनीष शाक्य मात्रै जीवित छन् भने १८ जनाको मृत्यु भएको छ।

उनले दुर्घटनालगत्तै सरकारको दायित्व पूरा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धारको कार्य गरेको भन्दै प्रशंसा गरे ।

गृहमन्त्री लेखकले भने,‘दु:खद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौं। विस्तृतमा छानबिन गर्छौं, दुर्घटना कसरी र किन भयो भन्ने पनि अध्ययन गर्नुपर्‍यो। अध्ययन गरिसकेपछि दुर्घटना नहुनेतर्फ ठोस कदम चाल्नुपर्छ।’

गृहमन्त्री लेखकले हवाई दुर्घटना न्यूनीकरणका लागि नीतिगत, कानुनी, प्राविधिक र जनशक्तिलगायतमा ठोस रूपमा सरकारले काम गर्ने पनि बताए।

जहाज दुर्घटनापछि अग्निनियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए।

क्याप्टेन शाक्‍यलाई उद्धार गरेर उपचार गर्न अस्पताल पुर्‍याइएको थियो। सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्