माओवादी अध्यक्ष प्रचण्डले भने – बिचौलियाको पहलमा नयाँ गठबन्धन बन्यो


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको टिप्पणी गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको बताए। उनले अव पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको पनि बताए।

अध्यक्ष प्रचण्डले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ।’

अध्यक्ष प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरव्याज विरोधी कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताए ।

उनले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको बताए ।

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने बताए ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्