बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज


 


हेटौँडा, साउन ९ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा विहान ११ बजे सुरु हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता लामालाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार साँझ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । संघमा दुई ठुला दल काँग्रेस र नेकपा एमालेबिचको सत्ता साझेदारी अनुसार काँग्रेस र र एमालेका प्रदेश सभा सदस्यको समर्थनमा लामालाई मुख्यमन्त्री बनाउन मङ्गलबार दिउँसो प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेस गरिएको थियो ।

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आव्हान गरेका थिए ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्