१६ वर्षमा फेरिए १४ सरकार, ५ सय २१ मन्त्री !


 


काठमाडौं । राजनीतिक व्यवस्था परिवर्तनपछिको १६ वर्षमा मुलुकमा १४ पटक सरकार फेरिए पनि नागरिकको अवस्थामा खासै परिवर्तन आएको छैन ।

पहिलो संविधानसभा २०६४ को पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्यसँगै संघीय लोकततान्त्रिक गणतन्त्र घोषणा गरेपछिको १६ वर्षयता १४ प्रधानमन्त्री र ५ सय २१ उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्री भएका छन् ।

राजकीय सत्ता र शक्तिमा रहेर उनीहरूले अथाह सेवासुविधा लिए तर आम जनतालाई दिनुपर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सकेनन् भने विकास र सुशासनसमेत निकै कमजोर बन्न पुग्यो । त्यसैले जनतामा चरम निराशा छाउन पुगेको छ ।

यस अवधिमा चौध सरकारका उपप्रधानमन्त्री ३५, मन्त्री ३ सय ७६ जना, राज्यमन्त्री १ सय ८ र २ जनाले सहायकमन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।

यही तथ्यांकभित्रकै पात्रहरूमध्ये धेरैजसो पटकपटक सरकारको नेतृत्व गर्ने र मन्त्रीमा दोहोरिएका छन् । तर, उनीहरूको कार्यशैलीमा परिवर्तन नआउँदा नागरिकले आशाको अनुभूति गर्न नपाएका हुन् ।

सरकार केवल सरकारमा जानेहरूका लागि मात्रै फेरिएको हो भन्ने भाष्य स्थापित भइरहेको छ । नागरिकको न्यूनतम कुराहरू, गाँस बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार र सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन् । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्