सुदूरपश्चिम सरकारले घटायो मन्त्रालय संख्या


 


धनगढी, साउन ८ । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ ।

दीर्घ सोडारीको नेतृत्वको सरकारले बढाएको मन्त्रालय संख्या अहिले आफै घटाएको हो । १० वटा मन्त्रालयबाट घटाएर अहिले पुनः सातवटा बनाइएको छ ।

मन्त्रिपरिषदको साउन ६ गते बसेको बैठकले मन्त्रालय संख्या घटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले जानकारी दिए ।

नेकपा एमाले सरकारमा हुँदा एमालेकै दबाबमा बढाइएको मन्त्रालय संख्या अहिले एमाले बाहिरिएपछि घटाइएको उनले बताए ।

एमाले, माओवादी, एकीकृत समाजवादी, नाउपा (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बनेको समाजवादीका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले मन्त्रालय भागबन्डा पुर्याउन गत असार १६ गते मन्त्रालय संख्या बढाएर कार्यविभाजन गरी प्रदेश प्रमुखको कहाँ प्रमाणीकरणको लागि पठाएको थियो ।

असार १७ गते प्रमुख ठुला दल कांग्रेस र एमालेबीच भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारबाट एमाले बाहिरिएपछि महिना दिन नपुग्दै मन्त्रालय संख्या घटाइएको हो ।

प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्