बीपी कोइराला र पुष्पलाल कुनै दल विशेषको नेता होइनन्ः उपाध्यक्ष शाक्य


 


काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बीपी कोइराला र पुष्पलाल कुनै दल विशेषको नेता नभएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछापले पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार रामेछापका भँगेरी स्थित पुष्पलालको जन्मस्थलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले उहाँहरूलाई कुनै पार्टी विशेषको नेताको रूपमा हेर्न नमिल्ने बाउनुभयो । ‘उहाँहरूको त्याग, समर्पण, विचार र नेपाली समाजमा गरेको नेतृत्व कुनै एउटा पार्टी विशेषको लागि नभएर देशको लागि हो’, शाक्यले भन्नुभयो ।

बीपी र पुष्पलालले गर्नुभएको दुःख अहिलेको पुस्ताले कल्पना गर्न पनि नसक्ने शाक्यले बताउनुभयो । उहाँहरू पेटभरि खान नपाउँदा समेत देश र जनताको लागि जीवन समर्पण गरेको शाक्यको भनाइ छ । ‘उहाँहरू आँट र साहसको प्रतिमूर्ति हो’, शाक्यले भन्नुभयो ।

शाक्यले पुष्पलाललाई सम्मान गरेर मात्र नपुग्ने बताउँदै उहाँको विचारलाई आत्मसाथ गर्न सक्नु पर्ने बताउनुभयो । ‘पुष्पलालले लाभको होइन, त्यागको राजनीति गर्नुभयो, यसलाई हामीले बुझ्नु पर्छ’, उहाँले भन्नुभयो ।

अहिले कम्युनिष्ट नेताहरूमा व्यक्तिवाद र स्वार्थ बढेको बताउँदै शाक्यले यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नसक्ने उहाँले बताउनुभयो । सबै व्यक्तिगत स्वार्थ त्यागेर सुशासन र समृद्धिका पक्षमा काम गर्ने हो भने छोटो समयमा नै नेपाललाई समृद्ध राष्ट्र बनाउन सक्ने उहाँले धारणा राख्नुभयो ।

नेपालका कम्युनिष्ट नेताहरूको व्यवहार र चरित्र हेर्दा अझै केही समय नेपालका कम्युनिस्टहरू एक हुन नसक्ने उहाँले बताउनुभयो । धेरै षडयन्त्र गर्ने, अरूलाई सिध्याउने, अनेक खालका चलखेल गर्ने सामन्ती चरित्र नेपालका कम्युनिष्ट नेताहरूमा भएको उहाँले टिप्पणी गर्नुभयो । ‘कम्युनिष्ट नेताहरूमा व्यक्तिवादी चरित्र बढेको छ, त्यसैले एक हुन सकेका छैनन्, मिलाउन खोज्यो बिग्री हाल्छ, त्यसैले कम्युनिष्ट पार्टी एक हुन समय लाग्छ’, शाक्यले भन्नुभयो ।

संविधान परिवर्तन गर्न नमिल्ने दस्ताबेज नभएको भए पनि त्यसको औचित्य भने पुष्टि गर्नुपर्नेमा उहाँको जोड छ । विज्ञहरूसँग बसेर आआफ्ना पार्टीमा छलफल गरेर संविधानको संशोधन नगरी नहुने विषयलाई संशोधन गरेर अघि बढ्नु पर्ने उहाँको भनाइ छ ।

पुष्पलालको जन्मथलो भँगेरीलाई सम्मान गर्न लायकको थलो बनाउनु पर्ने उहाँले बताउनुभयो । यसको लागि आफूले पनि पहलकदमी लिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले संगठन विभागका सचिव माधव ढुङ्गेलले संगठन र विचार प्रवाहबाट मात्र शक्ति आर्जन हुने बताउनुभयो । त्यसैले पुष्पलाल कम्युनिष्ट पार्टी स्थापना गरी संगठन निर्माणको काम सुरु गर्नुभएको उहाँले स्पष्ट पार्नुभयो ।

ढुङ्गेलले विगतमा पनि कांग्रेस र कम्युनिष्ट मिलेर परिवर्तन गरेको बताउँदै अहिले पनि दुई पाटी देश बनाउन एक ठाउँमा आएका बताउनुभयो । परिवर्तनको लागि कांग्रेस र कम्युनिष्ट मिल्नु पर्छ भनेर पुष्पलाले उति बेला नै भनेको उहाँले स्मरण गराउनुभयो । ‘आज बाम–लोकतान्त्रिक संयुक्त सरकार छ, यसले देशमा स्थिरता, सुशासन र विकासको लागिका गर्छ भन्ने जनतामा विश्वास जागेको छ, लगानीकर्ता उत्साहित भएका छन्’, उहाँले भन्नुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्कीले भँगेरीलाई देश, विदेशका कम्युनिष्ट आउने थलो बनाउनु पर्ने बताउनुभयो ।

नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले पुष्पलाल र उहाँको योगदानको बारेमा चर्चा गर्नुभएका कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रवीन्द्र भण्डारी लगायतले बोल्नु भएको थियो । सहभागीलाई एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्