लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त


 


बुटवल, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा एमाले र नेपाली कांग्रेसका ५६ सांसदले नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष सोमबार मात्रै दाबी पेस गरेका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ जना सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरिएको थियो ।

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले नेकपा एमालेले गर्ने सहमति भएपछि सोमबार एमालेका उपनेता आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रूपमा रहेको नेकपा एमालेसँग २९ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन् । लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्