बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन् : पराष्ट्रमन्त्री राणा


 


काठमाडौं, साउन ७ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएकी छन् ।

नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत सोमबार बिहान उनले सो जानकारी गराएकी हुन्।

उनले भनेकी छन्, ‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ। बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन्।’

बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएको भन्दै उनीहरुका आफन्तले चिन्ता व्यक्त गरेका थिए ।

मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा. राणाले बताइन्।

आइतबार मात्र हवाईमार्गबाट एक सय १५ र काँकडभिट्टा नाका भएर तीन सय पाँचजना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।

बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छभने ढाकास्थित नेपाली दूतावासलाई निमियत सम्पर्कमा राखिएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्