करछली गरेका एक हजार ९८६ फर्ममाथिको अनुसन्धान टुंगियो


 


काठमाडौं । आन्तरिक राजस्व विभागले कर छलीमा संलग्न रहेका १ हजार ९ सय ८६ व्यापारिक फर्म तथा करदातामाथिको छानबिन र अनुसन्धान टुंगोमा पुर्‍याएको छ ।

विभागले ती फर्म तथा करदाताले प्रयोग गरेको झुटा तथा नक्कली बिजकहरूमाथि गरेको अनुसन्धान सकाउँदै ती फर्मबाट ११ अर्ब ३ करोड १७ लाख कर असुली गर्ने निर्णय गरेको छ ।

विभिन्नखाले उच्च दबाबका बाबजुद विभागको नेतृत्वले विभिन्न व्यापारिक फर्मबाट राज्यकोषमाथि हुन लागेको डकैती रोक्दै ती फर्मबाट राज्यकोषमा आउनुपर्ने रकम असुली गर्ने गरी महत्वपूर्ण निर्णय गरेको हो ।

जसमा आयकरतर्फ ७ अर्ब २० करोड ३० लाख र मूल्य अभिवृद्धि करतर्फ जरिवानासहित ३ अर्ब ८२ करोड ८७ लाख निर्धारण गरिएको विभागले जनाएको छ । अब ती फर्म तथा करदाताले विभिन्न परिपञ्च गरी छली गरेको कर सरकारलाई तिर्नुपर्ने छ ।

विभिन्न फर्म तथा कम्पनीहरूले झुटा तथा नक्कली बिजक प्रयोग गरी कारोबार गरेको सूचनाका आधारमा विभागले एक वर्षअघिदेखि ती कम्पनीको कारोबार र नक्कली बिजकमाथि अनुसन्धान र छानबिन थालेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्