उपसभामुख रानामगरको बचाउमा रास्वपा, आर्थिक लेनदेन नभएको दाबी


 


काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै उनले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेको दाबी गरेको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै उपसभामुख रानामगरको बचाउ गरेका हुन् ।

अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको विज्ञप्तिमा दाबी गरिएको छ ।

विज्ञप्तिमा यस प्रकरणमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ आफूहरूसँग सुरक्षित रहेको पनि झाले उल्लेख गरेका छन्।

रास्वपाले आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख रानामगर निष्कलंक रहेको पनि दाबी गरेको छ ।

रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा मुछिएकी छन् ।

यस प्रकरणमा उनी विरुद्ध संसद्को राज्य व्यवस्था समितिमा उजुरी समेत परिसकेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्