विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिँदै मुख्यमन्त्री जम्कट्टेल


 


काठमाडौं, साउन ६ । विश्वासको मत प्राप्त नहुने निश्चित भएपछि बागमती प्रदेश सभाबाट मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने तयारी गरेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ । तर विश्वासको मत नपाउने देखिएपछि उनले आजै राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्ने र पदबाट राजीनामा दिने गरी सत्ता गठबन्धनमा रहेका दलहरूबीच पछिल्लो पटक छलफल भएको थियो ।

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा काँग्रेसको ३७ र एमालेको २७ गरी ६४ जना प्रदेश सभा सदस्य रहेका छन् । सरकार निर्माणका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुने यस प्रदेशमा काँग्रेस र एमाले मिल्दा सहजै बहुमत पुग्ने छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।२०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले यसअघि २०७९ माघ ३ गते, २०७९ चैत १० गते र गत चैत १९ प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो ।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्