प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै


 


काठमाडौँ, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक बस्दैछ ।

एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् ।

एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।

नेपाली कांग्रेसले पनि आज बिहानको लागि संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १÷१ जना र दुईजना स्वतन्त्र सांसद छन्।

प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्