विकास र समृद्धिको आधारका लागि एमाले र कांग्रेसको सहकार्यः मुख्यमन्त्री कार्की
विराटनगर, ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बिच सहकार्य भएको बताउनु भएको छ ।
मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई ठुलो क्षती पुगेकोले एमालेले आफ्नो मूल प्रतिस्पर्धी पार्टी कांग्रेससंगै सहकार्य गर्न बाध्य भएको बताउनुभयो ।
शनिबार उदयपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले नेकपा एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने बताउदै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने बताउनु भयो ।
कोशी प्रदेश सरकारको नेतृत्व आफुले गरिरहँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आफु दुखी रहेको बताउदै यी सबै सरकार फेरबदलको खेल मुख्य जिम्मेवार भएकोले बताउदै अब भने प्रदेशले स्थिरता सरकार पाएकाले काममा गति पाउने उल्लेख गर्नुभयो ।
नेकपा एमाले चौदण्डीगढी नगर कमिटिको आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टी परित्याग गरि १ सय ६२ जना एमालेमा प्रवेश गरेका थिए । ठुलो संख्यामा उपस्थित एमाले नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार