‘मुलुकको समग्र विकासका लागि नयाँ सत्ता समीकरण भएको हो’


 



भक्तपुर, ५ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीच मुलुकको समग्र विकासका लागि सत्ता समीकरण भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उहाँले प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई विकास र जनतामा विद्यमान निराशा चिर्ने दृढ सङ्कल्पसहित सत्ता समीकरण भएको दावी गर्नुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, “नयाँ सत्ता गठबन्धन बनेपछि अहिले जुनखालका चर्चा भइरहेका छन्, विपक्षी दलले संविधानको धारा ७२ को उपधारा २ को गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी पनि गरे तर हामी सत्ताका लागि मात्रै एकठाउँमा आएका होइनौ, देशमा विद्यमान समस्या समाधान गर्ने दृढ राजनीतिक सङ्कल्पका साथ सत्ता समीकरण गरेका हौँ । अब सोहीअनुसार काम गर्छौ ।”

उहाँले नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्यमशीलताको विकास, कृषिमा रूपान्तरण, भूमि समस्या समाधान, सामाजिक सुरक्षा र राष्ट्रिय हितमा काम गर्न एमालेले पार्टीका तर्फबाट ९९ बुँदै सुझावपत्र सरकारलाई बुझाएको समेत उल्लेख गर्नुभयो । एक अर्को प्रसङ्गमा पूर्वमन्त्री ज्ञवालीले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेकाले त्यसले दिने प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकार अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्