खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण


 


काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवं खानेपानी प्रशोधन केन्द्र र त्यहाँको ल्याबको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले काठमाडौँका नागरिकलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “फोहर पानी कुनै पनि हालतमा काठमाडौँ नजाओस्, सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्नुहोला, काठमाडौँमा सफा, शुद्ध र स्वच्छ पानी बाह्रै महिना वितरण गर्नका लागि आवश्यक सबै व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

विसं २०७६ मा मेलम्चीमा आएको प्राकृतिक विपत्तिबाट क्षति भएको र मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा वितरण गर्न समस्या भएको उल्लेख गर्दै मन्त्री यादवले समस्या समाधानसहित काठमाडौँ उपत्यकामा बाह्रै महिना कसरी पानी पठाउने भन्ने विषयमा सरकार गम्भीर भएर लागेको बताउनुभयो ।

काठमाडौँवासीलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न बिदाका दिनमा पनि काम गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “उपकरणलगायत बजेटमा समस्या छ भने मलाई भन्नुस्, हामी दिन्छौँ तर काठमाडौँवासीको स्वच्छ पानी खाने सपना पूरा गर्नुस् ।”

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्