उन्मुलन भएको १० वर्षपछि काठमाडौंमा पोलियो भाइरस फेला


 


काठमाडौं, साउन ५ । नेपालमा पोलियो उन्मुलन भएको १० वर्षपछि काठमाडौंमा पोलियो भाइरस फेला परेको छ ।

काठमाडौंको टुकुचा र वाग्मती नदीको संगम क्षेत्रबाट संकलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो ।

उक्त नमुनामा ‘पोलियो भाइरस टाइप ३’ पुष्टि भएको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

नेपालमा अन्तिम पटक सन् २०१० मा पोलियोको बिरामी फेला परेका थिए । त्यसयता भने पोलियो संक्रमित फेला नपरेका कारण विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया क्षेत्रले २०१४ मा नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको थियो ।

डा. गौतमले खोप प्राप्त बालबालिकाको दिसाबाट उक्त भाइरस ढलमा गएको हुन सक्ने अनुमान गरे ।

उनका अनुसार १५ वर्षभन्दा कम उमेर भएका बालबालिका जसमा केही समययता अति शीघ्र लुलो पक्षघात देखिएको छ कि भनेर महाशाखाको सर्भेलेन्स टोलीले खोजी गरिरहेको छ । टुकुचा र वाग्मतीको संगम क्षेत्रबाट संकलन गरिएको नमुनामा भाइरस भेटिएकाले ललितपुर र भक्तपुर क्षेत्रलाई पनि समेटेर सूक्ष्म रूपमा निरीक्षण सुरु गरिएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्