‘मल किन्न कृषकले लाइन बस्नु नपर्ने’


 



धादिङ, ४ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल किन्न कृषकहरु लाइनमा बस्नु नपर्ने बताउनुभएको छ ।

उहाँले तत्कालै मलमा जनताको सहज पहुँच हुने वातावरण बनाउन मन्त्रालयमा निर्देशन दिइसकेको बताउनुभएको हो ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला धादिङ आइपुग्नुभएका कृषि मन्त्री अधिकारीलाई नागरिक समाजले सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रमा चुनौतीको चाङ रहेको बताउनुभयो । १० किलो मल लिन नागरिकता लैजानुपर्ने बाध्यता तत्काल हटाउन निर्देशन दिइसकेकाले अब मल सहज प्राप्त गर्न सहज हुने उहाँको भनाइ छ ।

उहाँले मन्त्री पदमा रहुन्जेल मन्त्रालयको जिम्मेवारीमा रहेर कुशलतापूर्वक किसानको हितमा काम गर्ने बताउनुभयो । “सकेको राम्रो गर्नेछु, तर मन्त्री पदबाट बाहिरिँदा कलङ्कको टीका नलगाइ बाहिरिनेछु”, उहाँले भन्नुभयो, “सकेसम्म किसानको हितमा शिर उँचो बनाउने राम्रो काम गर्नेछु, तर गलत काम गर्दिन । नागरिक समाजसँग टाढा छैन । फेरि यहीँ उपस्थित हुन्छु ।”

“मल, बीउविजन अभाव छ । विषादीको अत्यधिक प्रयोग भइरहेका छन् । रैथाने बाली उत्पादन हुन्न, विकासे चिज प्रयोग गरौँ भने जताततै बदमासी मात्रै छ । यस्ता थुप्रै समस्या छन्”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा म विज्ञ त होइन । तर, विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर म चाँडो भन्दा चाँडो एउटा सङ्कल्प तयार गर्दैछु । किसानको हित हुने गरी प्राप्त जिम्मेवारी पूर्णरुपमा निर्वाह गरेर हेर्न लायक केही न केही परिवर्तन हुने काम गर्छु ।”

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्