दूतावासलाई लेखेको पत्रबारे उपसभामुखको प्रष्टीकरण- पदको गरिमामा आँच आउने काम गरेको छैन


 


काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् ।

उपसभामुख रानाले आज एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् ।

उपसभामुख रानाले केही समय अगाडि एउटा एनजीओको कार्यक्रममा अमेरिका जाने क्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको र त्यसका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो ।

उठेका प्रश्नहरूका सम्बन्धमा विज्ञप्ति निकालेर उपसभामुख रानाले आफूबाट कुनै अनैतिक कार्य नभएको दाबी गरेकी छन् ।

सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको उनले बताएकी छन् ।

करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् ।

उनले विज्ञप्तिमा भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय राजदूताबासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन ।’

उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि आफूले अन्य कार्यक्रमको सिलसिलामा अमेरिका लगायत अन्य मुलुकको यात्रा गरिरहेको उनको विज्ञप्तिमा उल्लेख छ ।

उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिकिया तथा दृष्टिकोणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको रानाले बताईन् ।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्