मोहर्रम पर्व मनाउने क्रममा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते


 


रौतहट । रौतहटको राजपुरमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्।

राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा झडप भएको हो ।

राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो ।

केही युवाहरू उश्रृङ्खल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो।

जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन्। स्थिति नियन्त्रणमा लिन १२० प्रहरी टोली खटिएका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्