गृहमा कांग्रेसको कमाण्डसँगै प्रहरीमा गुप्तचर टोली उत्साहित


 


काठमाडौं । अघिल्लो सरकारबाट पेलिएका नेपाल प्रहरीका गुप्तचर टोलीका प्रहरी अधिकृतहरु सरकार फेरिएसँगै उत्साहित भएका छन् । अझ गृह मन्त्रालयको नेतृत्व समेत नेपाली कांग्रेसले पाएपछि उनीहरुको दौडधुप बढेको छ ।

रवि लामिछाने गृहमन्त्री हुँदा गुप्तचर टोलीलाई पन्छाएर चार जनालाई डिआइजीमा बढुवा भएको छ । त्यो बढुवाले गुप्तचर टोलीको प्रहरी नेतृत्वमा पुग्ने सम्भावना न्युन भएको थियो ।

तर, हाल रिक्त सिटमा तत्कालै बढुवा भए नेतृत्वको दौडमा रहने भएकाले उनीहरुले गृहमन्त्रीलाई दबाब दिइसकेका छन् ।

गत महिना एसएसपीहरु कृष्णहरी शर्मा, दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीको डिआइजीमा बढुवा भएको थियो ।

त्यसबेला डिआइजी बढुवामा एसएसपीहरु सिद्धिबिक्रम शाह, उमाप्रसाद चर्तुर्वेदी, सुशीलसिंह राठौर लगायत सिनियर थिए । तर, सरकारले गुप्तचर टोलीलाई अघि बढाउन चाहेन ।

गुप्तचर टोलीका अधिकृतहरु विगतमा कांग्रेस सरकारकै जोडबलमा २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए । धेरै जसो कांग्रेस निकट छन् । तर, कार्यसम्पादनमा १–२ जनाबाटै सबै कमजोर छन् ।

यो टोलीका कारण प्रहरीभित्र पनि आन्तरिक संघर्ष छ । खासगरी प्रहरीको ११० र १११ को टोलीले यो ब्याचलाई रचाउँदैनन् । उनीहरुकै कारण अरुको करिअर प्रभावित भएको छ । राजनीतिक सोर्सफोर्स भएकाले सरुवा बढुवामा पनि उनीहरु नै अघि हुने गरेका छन् ।

अहिले सरकार फेरिएपछि फेरि उनीहरुको चलखेल बढ्न थालेको छ । हाल एआइजीको एक र डिआइजीको एक दरबन्दी रिक्त छ । रिक्त पदमा बढुवाका लागि उनीहरुले गृहमन्त्री रमेश लेखकलाई दबाब दिन थालेका छन् ।

६ साउनभित्रै बढुवा गरे नयाँ आर्थिक वर्षको कार्यसम्पादन मूल्याङकन आवश्यक हुँदैन । सोही कारण शिद्धिबिक्रम शाह लगायत एसएसपीहरु तत्काल बढुवाका लागि चलखेलमा लागेका हुन् ।

तत्काल बढुवा गर्दा यसअघि बढुवा भएका डिआइजीहरु दुई महिना मात्र सिनियर भएकाले चैतमा एआइजी बढुवामा उनीहरुलाई पछि पार्न सकिने भन्दै गुप्तचर टोली बढुवाको दौडधुपमा लागेको हो ।

६ साउनभित्र बढुवा नभए असोजको अन्तिममा मात्र बढुवा गर्न मिल्ने हुन्छ । त्यतीबेलासम्म डिआइजीका थप दुई पद रिक्त हुनेछन् ।

एसएसपी शाह तिनै प्रहरी अधिकृत हुन्, जसले ललितपुर प्रहरी प्रमुख हुँदा मन्त्रीको गाडी जोगाउन नसकेको आरोप खेपेका थिए । गत पुस १३ मा प्रहरीको कमजोरीले तत्कालिन भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी ललितपुरको बालकुमारीमा जलेको थियो ।

कोरिया भाषा परीक्षा सम्बन्धी विवादमा परीक्षार्थीहरुले आन्दोलन गरिरहेका बेला मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको थियो । उक्त समयमा मन्त्रीको गाडीको जोगाउन नसकेको र पछि अनावश्यक बल प्रयोग गरेको आरोपमा एसएसपी शाहलाई ललितपुरबाट हटाइएको थियो । आन्दोलनमा जथाभावी बल प्रयोग गर्दा त्यतिबेला दुई युवकले ज्यान गुमाएका थिए ।

त्यसो त शाह रौतहट प्रहहरी प्रमुख हुँदा पनि विवादमा तानिएका थिए । पत्रकारलाई लागूऔशध हालेर फसाएको काण्डमा विवादमा परेका तत्कालिन एसपी शाहलाई प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरुप फिर्ता बोलाएको थियो ।

यता, एसएसी सुशीलसिंह राठौर भने निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्