नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : प्रचण्ड


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गरेको बताएका छन् ।

खुमलटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले सामाजिक न्याय र सुशासनको पक्षमा सरकार अघि बढेपछि कांग्रेस र एमाले अप्राकृतिक ढंगले मिलेको आरोप लगाए।

अध्यक्ष प्रचण्डले भने,‘ यो नयाँ सरकारप्रति जनताको कुनै आशा भरोषा बिल्कुल छैन। यो हाम्रो लागि संगठन बलियो बनाउने अवसर हो। त्यसैले युवा साथीहरूले आआफ्नो ठाउँबाट बल गरौँ। संगठनलाई बलियो बनाउने कुरामा आआफ्नो ठाउँबाट मेहनत गर्नुहोला।’

सरकारबाट बाहिरिएपछि संगठन विस्तार र सुदृढ गर्ने आधार बनेको बताए। उनले जनताले पाएको आधिकारलाई खोसेर फेरि निरंकुशतातिर जाने प्रयास भइरहेको बताए।

कांग्रेस-एमाले मिलेर पश्चगमनको षड्यन्त्र सुरु भएकाले त्यसको विरुद्ध माओवादीले हुंकार गर्नुपर्ने बताए। कांग्रेस एमालेलाई जनताको वैरीको संज्ञा दिँदै प्राप्त अधिकार र उपलब्धि खोस्न खोजेको जिकिर गरे।

सरकार छाड्दै गर्दा आफूहरू विजयी मुडमा भएको उनको भनाई छ । प्रतिनिधिसभाको सबैभन्दा दुई ठूला दल मिले पनि कसैले समर्थन नगरेको उनको जिकिर छ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्