‘पिआर’ लिएको आरोपमा पूर्व शिक्षामन्त्री सुमनासहितका व्यक्तिमाथि छानबिन


 


काठमाडौं । विदेशी मुलुकको स्थायी आवास अनुमतिपत्र (पिआर) लिएको आरोपमा उच्चपदस्थ व्यक्तिहरुमाथि छानविन थालिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, रक्षासचिव किरणराज शर्मा, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ माकाजू श्रेष्ठ र अर्थ मन्त्रालयअन्तर्गत कार्यरत रामप्रसाद मैनालीमाथि पीआर लिएको आरोपमा छानविन थालेको हो ।

उनीहरुमाथि सार्वजनिक पदमा रहेर पनि पिआर लिएको आरोप छ । सार्वजनिक पदमा बसेका व्यक्तिले पिआर लिन पाइँदैन । तर पूर्वमन्त्रीदेखि बहालवाला सांसद र कर्मचारीले पीआर लिएको आरोप लागेको छ ।

सार्वजनिक पदमा बहाल भएको बखत विदेशी पिआर लिएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अहिले सतर्कता केन्द्रले ती उजुरीमाथि छानबिन अगाडि बढाएको छ ।

पूर्वमन्त्री श्रेष्ठ र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक माकाजूको पिआरसम्बन्धी उजुरी गत १९ असारमा केन्द्रमा दर्ता भएको थियो । त्यसको दुई दिनअघि १७ असारमा सचिव शर्मा र उपसचिव मैनालीको उजुरी दर्ता भएको थियो ।

श्रेष्ठले युरोपियन मुलुकको, माकाजूले अस्ट्रिया, शर्माले अमेरिका र मैनालीले बेलायतको पिआर लिएको उजुरी परेको बताइएको छ । पिआरधारी राष्ट्रसेवकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउन सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्